परम्परागत भन्दा उपयोगमूखि सीप तथा तालिमतर्फ ध्यान दिनु आवस्यक


रिटर्नी नेटवर्क नेपालले सीपका लागि सीप आवस्यक नरहेको भन्दै प्रयोग विहिन परम्परागत भन्दा उपयोगमूखि सीप तथा तालिमतर्फ ध्यान दिनु आवस्यक रहेको बताएको छ ।
आज बैदेशिक रोजगार बोर्डको सचिवालयमा कार्यकारी निर्देशक डा. द्वारिका प्रसाद उप्रेती सहित कार्यालयका जिम्मेवार कर्मचारीहरुसंगको छलफलमा नेटवर्कका तर्फबाट सो कुरा उल्लेख गरिएको हो । आगामी आर्थिक बर्षको बजेटमा रिटर्नीहरुका लागि समेट्नुपर्ने कार्यक्रमहरुका बारेमा भएको छलफलका क्रममा श्रम आप्रवासनका विज्ञ, नेटवर्कका कार्यकारी निर्देशक जेपी सापकोटाले बजारको आवस्यकता र व्यवहारिक प्रयोगको आधारलाई मध्यनजर गरेर अहिले प्रदान भैरहेको तालिम र सीपका परम्परागत शैलीमा परिवर्तन आवस्यक रहेको बताउनुभयो । त्यसैगरि बैदेशिक रोजगारीपूर्वको अभिमूखिकरणमा अनिवार्य सम्बन्धित देशबाट फर्केका रिटर्नी प्रशिक्षकहरुको ग्यारेन्टी हुनुपर्नेमा नेटवर्कले जोड दिएको छ । हाल कायम रहेको एकजना प्रशिक्षक रिटर्नी भएको हुनुपर्ने व्यवस्थामा परिवर्तन गरी पूर्व अभिमूखिकरण कार्यक्रममा सम्पूर्ण प्रशिक्षक रिटर्नी भएको हुनुपर्ने व्यवस्था गर्न माग गरेको छ ।

रिटर्नीहरुको व्यवस्थित तथ्यांक संकलन, रिटर्नी उद्यमीहरुलाई प्रोत्साहनका साथै उद्यमको प्रवद्र्धन, रिटर्नी उद्यमीद्वारा उत्पादित बस्तु तथा सेवाको प्रदेशस्तरिय प्रदर्शनी, नव उद्यमीलाई कम्पनी दर्ता देखि उत्पादनको बजारीकरण सम्मका सबै अवस्थामा सहजिकरण र प्रोत्साहनका लागि रिटर्नी उद्यमी ईन्कुबेसन सेन्टरको स्थापना, एकिकृत सुचना प्रणालीको प्रभावकारी कार्यान्वयन, रिटर्नी क्षेत्रमा क्रियाशिल नागरिक संघसंस्थासंग नीतिगत तथा कार्यक्रमिक सहकार्य, बोर्डको सचिवालयमा रिटर्नी क्षेत्रका प्रतिनिधिको नीतिगत सुनिस्चितता लगायत विषयमा नेटवर्कले बोर्डलाई ध्यानाकर्षण पत्र बुझाउदै लाखौंको संख्यामा देशमा उपस्थित रिटर्नी समुदायलाई उपेक्षा नगर्न सुझाएको छ ।

नेटवर्कका अध्यक्ष उत्तम अधिकारी नेतृत्वमा कार्यकारी निर्देशक सापकोटा, वित्त व्यवस्थापक शालिकग्राम वसेल, मधेश प्रदेश संयोजक रामकृष्ण घिमिरे, लेखा अधिकृत प्रज्वल राजभण्डारी सहितको टोलीले बोर्डबाट हाल भैरहेको प्रयास, उपलब्धि र आगामी योजना बारे विस्तृतमा छलफल गरेको हो । उक्त भेटमा बोर्डका निवर्तमान कार्यकारी निर्देशक राजन श्रेष्ठले नेटवर्क जस्ता रिटर्नीका क्षेत्रमा अधिकार प्राप्त संस्थाहरुलाई संगै लिएर अघि बढ्दा मात्र बोर्डले लिएका लक्ष्यहासिलमा सहयोग पुग्ने बताउनुभयो  ।
निश्कर्षस्वरुप कार्यकारी निर्देशक उप्रेतीले नेटवर्कका तर्फबाट संस्थागत रुपमा प्राप्त सुझावहरु उपयुक्त, समयसापेक्ष र मननयोग्य रहेकाले यथासक्य सम्बोधन गर्ने प्रयत्न रहने बताउनुभयो । रिटर्नी लक्षित बोर्डका कार्यक्रमहरुमा सरोकारवाला क्षेत्रमा क्रियाशिल नेटवर्कलाई सहकार्यका लागि उप्रतीले उचित वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।